Sunday, September 16, 2018

जालिनी




पहिलो दिनमै पहिलो सोमा चलचित्र हेरिएको धेरै अनुभव भएतापनि नाटक पहिलो दिनमै हेरेको अनुभव थिएन। भदौँ २९ गते देखि मण्डला नाटक घरमा नाटक जालिनी प्रदर्शन हुने खबर विज्ञापन मार्फत धेरै अघिनै थाहा भैसकेको थियो। रङ्गमञ्चका पुराना कलाकार एवं हालका चर्चित नायक दयाहाङ् राईद्वारा निर्देशित भनेपछि चासो बढ्नु त स्वभाविक जस्तो नै भयो। ध्रुवसत्य परियारद्वारा लेखिएको कैरण कथा सङ्ग्रहमा समावेश गरिएको जालिनी नामको कथालाई नाटकिय रुपमा प्रस्तुत गर्न खोजेका छन निर्देशकले यस नाटकमा। रङ्गमञ्चका प्रख्यात कलाकर्मीहरुलाई यस नाटकमा प्रस्तुत गरिएको छ। साथै यस नाटकमा एउटा नयाँ प्रयोग पनि गरिएको छ।




नाटकको सुरुवात एउटी बुढी आमै र एउटी भर्खरकी केटीको सम्वादबाट हुन्छ। मानिसले बनाएको कुरिती र कुसंस्कारका बारेमा नाटकको पहिलो खण्डमा चर्चा गरिएको छ। पछिल्लो खण्डमा केटीको जिज्ञासा मेटाउन बुढी आमाले आफ्नो छोराले बेच्न राखेका मुर्तीको कथा सुनाउँछिन्। कथाको सुरुवात राजा र उनका भारदारहरुको संवादबाट हुन्छ। उनकी एउटी छोरी हुन्छ जसमा अधभूत गुण हुन्छ, उनले जे भन्यो तेही कानुन हुने अनि जसको चित्र बानायो त्यो पराक्रमी, प्रख्यात अनि त्यस देशको राजा हुने। त्यसकारण राजा आशंकित हुन्छन र आफ्ना भारदारहरुको सल्लाह अनुरुप छोरीलाई आफुबाहेक कोहि अन्य पुरुषले नदेख्ने गरि राख्ने व्यवस्था मिलाउछन्। एक दिन उनका भारदारले राजकुमारीका लागि दरबार बनाउने प्रस्ताव गर्छन जसलाई उनले सहर्ष स्विकार गर्छन र उक्त निर्माण कार्यका लागि सम्पुर्ण जनतालाई अनिवार्य उपस्थिति र सहयोगको उर्दि जारी गर्छन्। जनतालाई दिनरात नभनी श्रमशोसन गर्न थालेपछि एउटी बुढी नारीले राजाको विरोध गर्छिन्। सो कुरा थाहा पाएपछी राजा आक्रोशित हुन्छन र स्वयम कार्यको निरिक्षण गर्न निस्कन्छन्। सो क्रममा उनले सोधेको प्रश्नको चित्तबझ्दो जवाफ पाएपछी उनले एक व्यक्तिलाई आफ्नो प्रधानमन्त्री बनाउने निर्णय गर्छन्। तर आफनोभन्दा आफैले बनाएका प्रधानमन्त्रीको ख्याती बढन थालेपछी उनी फेरी आक्रोशित हुन्छन र पहिले विरोध गरेकी महिलालाई आफनो सामु उपस्थित गराउने आदेश दिन्छन्। त्यसपछी उनले ती महिलालाई मृत्युदण्डको सजायं सुनाउछन र आफनो अन्तिम इच्छा राख्न भन्छन्। महिलाले आफ्नो इच्छा अर्को दिन सुनाउछु भन्छिन्। त्यसको केहि समयपछि राजकुमारी आफनो पितालाई आफुले सपनामा देखेको कुरा सुनाउन आउँछिन। जसमा उनले एउटी कालो कपडामा छोपेर रहेकी महिलालाई मृत्युदण्ड दिन लागेको र उनको कपडा उठाउन लग्दा सपनाबाट बिउझेकाले सोको नाटकीय रुप हेर्ने इच्छा रहेको बताउँछिन। भोलिपल्ट महिलाले आफनो इच्छा सुनाउछिन जस्मा उनले आफुलाई कालो कपडामा उपस्थित हुन दिनुपर्ने र आफनो मृत्यु पश्चातपछि पनि कसैले नहेर्ने सर्त राखछिन। राजाले सर्त स्विकार्छन तर राजकुमारी पनि सोहि समय आफनो इच्छा पुरा गर्न आउँछिन, राजाले अनुमति दिन्छन। तर राजकुमारीले कपडा उठाएर हेर्दा त्यस भित्र एक पुरुषलाई देख्छिन, जसलाई देख्ने बित्तिकै उनी आफ्नो पहिलो प्रेममा पर्छिन तर राजालाई सो कुरा मन पर्दैन्। त्यसपछि सिर्जित परिश्थितीलाई नाटकमा प्रस्तुत गरिएको छ।

यस नाटकको सबैभन्दा सबल पक्ष भन्नुपर्दा कलाकारहरुको अभिनय र सम्वाद रहेको छ। निर्देशकिय पक्ष सबल रहेतापनि यस नाटकमा प्रकाश र कलाकार एक पात्रबाट अर्कोमा परिवर्तन हुदाँको समयमा केहि त्रुटिहरु देखिएका थिए। समग्रमा भन्नुपर्दा नाटक एउटा उत्कृष्ट कथावस्तु, निर्देशन, अभिनय र सम्वादको समिश्रण रहेको देखिन्छ। नाटक असोज २१ गतेसम्म मञ्चन हुनेछ।




रेटिङ: ★★★★☆



No comments:

Post a Comment